काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले झुटको खेती गरेर देशलाई तहसनहसको बाटोतर्फ उन्मुख गरेको आरोप लगाएका छन्।
जोशीले वक्तव्य जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालगायतका झुण्डहरूले कार्यकर्तासँग माफी माग्नुपर्ने समेत बताएका छन् ।
कांग्रेसकै कारण मुलुक नाजुक स्थितिमा पुगेको भन्दै नेता जोशीले मिलेर देशको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।
वक्तव्य भनिएको छ,’जब राजनीतिमा विचलन आउँछ,तब झुटको खेति गरिन्छ। १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटोतर्फ उन्मुख गरेको कुरा जनतासामु प्रष्ट नै छ। अतः सबै भन्दा ठूलो कुरा देश हो। देश रहे मात्रै पार्टी रहन्छ। पार्टी रहे राजनीति गरौंला। मैले मेरो व्यक्तिगत फाइदाको लागि निर्वाचनमा होमिनुपर्ने कुनै आवश्यकता छैन। आज देश नाजुक स्थितिमा पुगेको छ। सबै मिलेर देशको रक्षा गर्नुपर्ने बेला आएको छ।’
तनहुँ १ को उपनिर्वाचनमा प्रभावशाली मानिएका जोशीको समर्थन लिन कांग्रेसले उनीमाथिको कारबाही फिर्ता भएको जनाएको थियो । तर, जोशीले कांग्रेसको आइतबारको निर्णयमा आफ्नो नाम उल्लेख नभएको भन्दै २०७९ अघि भएका निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेकाहरूले माफी माग्नुपर्ने भनेकोमा उल्टै देउवाले माफी माग्नुपर्ने बताएका हुन् ।
उनले नेपाली कांग्रेसले मञ्चन गरेको नाटकमा न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने मात्रहरू नै भन्दै पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने कांग्रेसका युवा नेताहरूको हैसियत र काम गर्न क्षमता देख्दा दयभाव जागेको बताएका छन्।
हेर्नुस् वक्तव्य