काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) का क्रममा विभिन्न जिल्लामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
यस क्रममा शनिबार हुम्ला र कास्कीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एसलगायत पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता एमाले प्रवेश गरे ।
हुम्लामा माओवादी केन्द्रका जिल्ला समन्वय कमिटीका सदस्य कृष्ण कार्कीसहित नवराज शाही, कल्पना छन्त्याल शाही, धनपुरी विक र लट्टु सिंहलगायत आठ जना, नेकपा एसबाट बकेन्द्र जैशी र बाँचकली जैशी एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
उनीहरूलाई पार्टीका सचिव तथा मिसन ग्रासरुटका लागि कर्णाली प्रदेशका संयोजक योगेश भट्टराईले पार्टीमा स्वागत गरेका थिए ।
यसैगरी कास्की पोखरा महानगरपालिका वडा नं. ३३ मा माओवादी केन्द्र र नेकपा एस परित्याग गरी नेताहरू टुकराज भण्डारी, बद्रीनाथ आचार्य, रविप्रसाद आचार्य, मीनबहादुर नेपाली, प्रवीण आचार्य, सुमन पौडेल, रामेश्वर बस्ताकोटी, कृष्णप्रसाद पौडेलसहितका एकदर्जन भन्दा बढी नेता कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् ।
उनहरूलाई मिसन ग्रासरुटका लागि कास्कीमा खटिएका पार्टीका केन्द्रीय सदस्य मायानाथ अधिकारीले पार्टीमा स्वागत गरेका थिए ।