काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन्।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालय विपी नगरमा रिले अनशन बसेका हुन्।
म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत्त संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेको हो । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।
पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्। रिले अनसनमा कांग्रेस महामन्त्री गगन थापा समेत पुगेका छन्।
उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठि खारेज हुनुपर्ने, १२औं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।
यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक बर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए । स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।
तोकिएको समयअवधि भित्रपनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।