कैलाली। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् ।
शुक्रवार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महशुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए ।
पौडेले भने, ‘अहिले म तिथिमितितिर जान्न । मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनैपनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदी एमालेले त्यो आवश्यक्ता महशुस ग-यो भने केही हप्ताको काम हुन्छ ।’
साथै उनले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप समेत लगाए । पौडेलले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको बताए । नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको समेत उनले आरोप लगाए ।
‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन । ’
आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने गरी गृहकार्य गरिरहेको भन्दै उनले मिसन ग्रासरुटले पनि एमालेलाई अझै बलियो बनाएको बताए ।
एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने र देशलाई गतिशिल बनाउन नसक्ने बताउँदै उनले सरकार जसरी अगाडि बढ्दैछ, यसले स्थायित्व नदिने जिकिर गरे । वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखिएको उनको भनाइ थियो ।