बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसमा मन्त्री भागबन्डा पेचिलो बन्दै, शेखर समूहले राख्यो तीन मन्त्रालयको अडान

शुक्रबार, चैत्र १७ २०७९

काठमाडौं । मन्त्रिपरिषद विस्तारमा कांग्रेस संस्थापनइतर समूहले सम्मानजनक सहभागिताको माग गरेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले इतरपक्षसँग मन्त्री बन्नका लागि दुई जनाको नाम मागेपछि इतर पक्षले अस्वीकार गरेको छ । उसले कांग्रेसले पाएको ८ मन्त्रालय मध्ये तीन मन्त्रालयको दाबी गर्दै आएको छ ।

शुक्रबार बिहान समूहका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

छलफलपश्चात् नेता कोइरालाले आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

छलफलमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी थिए ।

अहिले मन्त्रीको अन्तिम टुंगो लगाउन सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक जारी छ । तर, शेखर समूह उपस्थित छैन ।