बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

शुक्रबार, चैत्र १० २०७९

काठमाडौँ – मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।

मन्त्रिपरिषदले प्रहरीको ३०औं आईजीपीको रुपमा कुँवरको बढुवा गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी चार एआईजीलाई पछि पारेका छन् । दुई साताअघि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कुँवरसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

बुधबार मात्र मन्त्रिपरिषदले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । एआईजीमा बढुवा भएको दुई दिनमै कुँवर आईजीपी बनेका हुन् । कुँवरको कार्यकाल हालको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार २०८१ चैतसम्म हुनेछ । उनी २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । डीआईजी रहँदा मधेस प्रदेश प्रमुख रहेका कुँवरले प्रहरी प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।