बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एमाले एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियानमा जाने

बुधबार, भाद्र ८ २०७९

काठमाडौं ।  नेकपा (एमाले) एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियानमा जाने भएको छ ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गर्नेबारे छलफल भएको हो ।

पार्टी कार्यालयमा बसेको बैठकमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे मुख्य छलफल भएको थियो ।

यसैगरी एमालेले वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामना गर्ने भएको छ । अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक-फरक धारणा आउन नहुने कुरा बैठकमा नेताहरुले उठाएका छन् ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आगामी केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्नेछ । ‘आगामी सरकार एमालेको बन्नुपर्छ । एकल बहुमतको एमाले बनाउने घोषणासहित हामी चुनावी अभियानमा जान्छौँ,’ उनले भने, ‘यसबारे आगामी केन्द्रीय समिति बैठकले निर्णय गर्छ ।

गठबन्धन सरकारले गरेका गलत काम, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने गुरुङले जानाकारी दिए ।

बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिएका थिए ।

एमालेले भदौ ९ गते पोलिटब्युरो र १०–११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । ती बैठकले उम्मेदवार छनौटका मापदण्ड तथा चुनावी तयारीबारे आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।

बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि र मापदण्ड केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ ।

पार्टीको वार्षिक बजेट पारित गरेको गुरुङले बताए । बैठकमा ६ वटा प्रदेशका ईन्चार्जहरूले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको संगठनात्मक गतिविधिबारे रिर्पोटिङ गरेका थिए । प्रदेश इन्चार्जहरूले स्थानीय तह निर्वाचनको समीक्षात्मक रिपोर्टसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सम्भावित अवस्था तथा गठबन्धनको चुनौतीका बारेमा जानकारी गराएका थिए ।