काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय ६५ एम्पुल, फेनारगन ८० एम्पुल र नूफिन १ सय एम्पुल सहित भारत मोतिहारी जिल्ला हरैया–२ घर भएका ५० वर्षीय राजु मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७०२६ नम्बरको टाटासुमो गाडीमा सवार मण्डललाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँचगर्ने क्रममा कम्मरमा टेपले बेरी लुकाइ ल्याएको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मण्डल उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।