काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा मिर्चैया नगरपालिका–३ घर भएका १९ वर्षीय जोनसोन कुमार शाह र सोही नगरपालिका–८ बस्ने २३ वर्षीय रबी पटेल रहेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले ७९ ट्याब्लेट सहित उनीहरुलाई फेला पारेको र शाहको कोठाबाट थप १ सय ८० ट्याबलेट नाइट्राभेट समेत बरामद गरेको छ । उक्त घटनाको थप अनुसन्धानको क्रममा सिरहा सिराहा नगरपालिका–९ घर भएका २३ वर्षीय मिलन यादबले तिनकुनेस्थित अन्नपूर्ण ब्वाईज होस्टेलमा लागूऔषध बेचबिखन गर्ने गरेको खुल्न आएपश्चात उक्त होस्टेलको कोठा तलासी गर्दा स्रोत नखुलेको ३ लाख ५० हजार रुपैयाँ फेला पारी मिलन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–११ बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १४ हजार ३५ रुपैयाँ र ब्राउन सुगर सेवन गर्न प्रयोग हुने सिक्का सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–११ मेन चोकमा उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेवबाट नियन्त्रित लागूऔषध १४ ट्याब्लेट रेगास्टर, ८७ ट्याब्लेट कपट्याब, १० ट्याब्लेट नाइट्राभेट, २ ग्राम २० मिलिग्राम खैरो धुलो पदार्थ र २ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो पदार्थ सहित शुल्लाफाटा नगरपालिका–१० झलारी बस्ने २१ वर्षीय प्रकाश ठगुन्ना सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित शिव भक्त मिश्रको पसल अगाडिको २ वटा बेन्च चोरी गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।