माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना हुने भएको छ । नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले प्रतियोगिताको आयोजक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो ।
प्रतियोगितामा धावकहरूले आफ्नो क्षमता, रुचि र तयारीअनुसार चार विधामा सहभागिता जनाउन सक्नेछन् । जसअनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटरका दौड सञ्चालन हुनेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइटमार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन् । यसले विभिन्न उमेर समूह र शारीरिक क्षमताका व्यक्तिलाई दौड प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका कारण नियमित व्यायाम तथा खेलकुदको महत्व बढ्दै गएको सन्दर्भमा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले प्रतियोगितामा सहकार्य गरेको जनाएको छ । बैंकका अनुसार प्रतियोगिताले शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद र पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पोखराको पर्यटन प्रवद्र्धनसँगै दौड संस्कृतिको विकास र खेलकुदमार्फत स्वस्थ समाज निर्माणमा समेत प्रतियोगिता सहयोगी हुने बैंकको विश्वास छ ।