शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उपाधिका लागि भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज प्रतियोगितामा विश्राम दिइएको छ । फाइनल खेल भोलि साँझ ५ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्स दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

लुम्बिनी लायन्सले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेलसँगै प्रतियोगिताको तेस्रो संस्करणको उपाधि विजेताको टुङ्गो लाग्नेछ ।