काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौं उपत्यकाका चार नारायणसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । भगवान् विष्णुको पूजाआराधना र दर्शनका लागि बिहानैदेखि भक्तजन मन्दिरमा पुगेका हुन् ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा दर्शनार्थीको लाम लागेको छ । यी चार मन्दिरलाई सामूहिक रूपमा चार नारायणका नामले चिनिन्छन् । हरिबोधिनी एकादशीका दिन चारै नारायणको एकैपटक दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
चार नारायणको दर्शन गर्न नसक्ने भक्तजन बूढानीलकण्ठस्थित नारायणस्थान पुग्ने गर्छन् । त्यहाँ भगवान् विष्णु र शिवको स्वरूप एउटै विशाल ढुङ्गामा कुँदिएको मूर्ति रहेको छ ।
बूढानीलकण्ठ नारायणस्थानमा राति १ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिए । भक्तजनको आगमन बढेपछि दशनामी मठले राति १ः३० बजेदेखि नै मन्दिरको ढोका खुला गरेको थियो ।
मठका अनुसार आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा तथा दर्शन गरिसकेका थिए ।
मन्दिरमा बिहान १ः३० बजेदेखि सवा ८ बजेसम्म विशेष पूजाका लागि दर्शनार्थीलाई प्रवेश रोक्ने कार्यक्रमसमेत तय गरिएको थियो ।
हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म बूढानीलकण्ठमा विशेष मेला लाग्ने गर्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण शयन गरिरहेको अलौकिक मूर्ति छ । उक्त मूर्ति दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत पुग्ने गर्छन् ।
हरेक वर्ष हरिबोधिनी एकादशीका अवसरमा मठले श्रीमद्भागवत कथा वाचनसहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ तथा धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।
यसैगरी, नारायणहिटी दरबार क्षेत्रको चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका, पशुपति क्षेत्र तथा गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत उपत्यका र देशका विभिन्न स्थानमा रहेका नारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।