शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

एनसेलले एक महिनाभित्रै थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने, ग्राहकलाई निःशुल्क फोरजी सिम दिइने

बिहिबार, मंसिर ३ २०८३

काठमाडौं  । एनसेलले एक महिनाभित्रै आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने योजनाअनुसार कम्पनीले बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटसमेत बन्द गर्ने प्रक्रिया अघि बढाएको हो।

एनसेलका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन्। अब बाँकी २ हजार १३७ साइट पनि चरणबद्ध रूपमा बन्द गरिने कम्पनीले जनाएको छ।

कम्पनीले थ्रीजी सेवा बन्द गर्ने कार्य चार चरणमा सम्पन्न गर्ने योजना बनाएको छ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्।

त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी स्थान तथा चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी सबै थ्रीजी साइट बन्द गरिने एनसेलले जनाएको छ।

सन् २०१७ मा सुरु भएको एनसेलको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ। त्यसपछि ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत उच्च गुणस्तरको आवाजसहित स्पष्ट भ्वाइस कल र छिटो कल कनेक्सनको सुविधा पाउनेछन्।

भोल्टे प्रविधिको प्रयोगबाट ग्राहकले फोनमा कुराकानी गरिरहँदा पनि एकैसाथ फोरजी डेटा प्रयोग गर्न सक्नेछन्। यसका लागि फोरजी सिम र भोल्टे सपोर्ट गर्ने मोबाइल आवश्यक पर्नेछ।

एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारले पुरानो प्रविधिलाई नयाँ, छिटो र प्रभावकारी प्रविधिले प्रतिस्थापन गर्ने तथा सञ्चालन र मर्मतसम्भार खर्च घटाउने उद्देश्यले थ्रीजी सेवा बन्द गर्न लागिएको बताइन्।

उनका अनुसार यस प्रक्रियाले ग्राहकलाई फोरजी प्रविधिमा आधारित सेवामा स्तरोन्नति हुने अवसर प्रदान गर्नेछ। थ्रीजी सेवा बन्द भएपछि कम्पनीले भोल्टेसहितको फोरजी नेटवर्क थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न सक्नेछ।

कंसाकारले थ्रीजी सेवा बन्द हुँदा कुनै पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने गरी व्यवस्था मिलाइएको पनि बताइन्। फोरजीमा स्तरोन्नति नभएका ग्राहकले समेत टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।

थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्कको क्षमता अभिवृद्धि, सेवा गुणस्तर सुधार र कनेक्टिभिटी विस्तारमा पुनः प्रयोग गरिने कम्पनीले जनाएको छ। यसबाट नेटवर्कको क्षमता बढ्नुका साथै सञ्चालन खर्चसमेत घट्ने अपेक्षा गरिएको छ।

एनसेलका अनुसार कम्पनीको फोरजी सेवा यसअघि नै नेपालको करिब ९५ प्रतिशत जनसंख्याको पहुँचमा पुगिसकेको छ। यद्यपि, कम्पनीका कुल सक्रिय ग्राहकको करिब पाँच प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्।

थ्रीजी सेवा बन्द हुँदा ग्राहकलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्न एनसेलले हाल निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा पुगेर आफ्नो सिम फोरजीमा अपग्रेड गर्न सक्नेछन्।

फोरजी सिम लिने ग्राहकले सात दिनको समयावधि भएको दुई जीबी डेटा पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।