काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो ।
प्रतियोगिता मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । केही खेल भने औपचारिक उद्घाटनअघि नै मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन तथा समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना हुनेछ ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।
प्रत्येक टोलीबाट ६६० जनाको सहभागिता रहनेछ । जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी हुनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि १ हजार ३० जना निर्णायक परिचालन गरिनेछ । तीमध्ये २५८ जना अन्तर्राष्ट्रिय र ७७२ जना राष्ट्रिय निर्णायक रहनेछन् । यसबाहेक खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता हुनेछ ।
प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा सबैभन्दा बढी २३ खेल आयोजना हुनेछन् । नेपालगन्ज र बर्दियामा दुई–दुई, दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक तथा सल्यानमा दुई खेल सञ्चालन गरिनेछ ।
राखेपले यसपटक व्यक्तिगत तथा टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, टिम स्पर्धामा स्वर्ण जित्ने टोलीले १५ हजार, रजत जित्नेले १० हजार र कांस्य जित्नेले ८ हजार रुपैयाँ पाउनेछन् । रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार दिने व्यवस्था पहिलोपटक गरिएको राखेपले जनाएको छ ।
पटकपटक मिति सर्दै आएको प्रतियोगिताको पछिल्लो मिति राखेपको १२५औँ बोर्ड बैठकले २०८३ साउन २८ गते निर्धारण गरेको थियो ।