कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रनेछन्।
चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। यता, पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
यस सिजनको समूह चरणमा भने सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो। समूह चरणको जितबाट सुदूरपश्चिमले मनोबल उच्च बनाएको छ भने चितवन उक्त हारको बदला लिँदै फाइनल पुग्ने योजनामा हुनेछ।
आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।