मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

मंगलबार, कार्तिक २४ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको मौलिक संवत् तथा राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको बताएका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराएर नयाँ युगको सुरुवात गरेको ऐतिहासिक घटनाको स्मरण गरेका छन् ।

लिच्छवी राजा राघवदेवको शासनकालमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले नेपाल संवत् प्रचलनमा ल्याएको ऐतिहासिक मान्यता रहेको उनले उल्लेख गरेका छन् ।

नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको बताउँदै राष्ट्रपति पौडेलले मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै उनले शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको प्रशंसा गरेका छन् ।

राष्ट्रपति पौडेलले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अघि बढ्न नेपाल संवत्ले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

यस दिवसले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।