विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल संवत् नेपालीको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको यस संवत्ले मानवता, समानता, सामाजिक न्याय र परोपकारको प्रेरणादायी सन्देश दिएको बताएका छन् ।
उनले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्ने सन्देश नेपाल संवत्ले दिएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले कोशी प्रदेशलाई समृद्ध बनाएको बताएका छन् ।
हिमाल, पहाड र तराईको विविधतायुक्त प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायका मौलिक पर्व, कला, साहित्य र परम्परा साझा सम्पत्ति तथा गौरव भएको उनको भनाइ छ ।
उनले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रामा नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।