काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्।
खेल साँझ ५ बजे सुरु हुनेछ। लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको कप्तानीमा मैदान उत्रनेछन्।
चार खेलबाट ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा छ। आजको खेल जित्दै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाउन चाहन्छ।
यता, तीन खेलबाट ४ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ। काठमाडौं पनि आज लुम्बिनीलाई पराजित गर्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रनेछ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। लिग चरणका खेलमा शीर्ष चार स्थान हासिल गर्ने टोलीले प्लेअफमा स्थान बनाउनेछन्।