काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) परिवर्तन गरेर नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्य गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकाले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुनसक्ने टिप्पणी गरे ।
सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।
सरकारको निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, ‘उनीहरूले भनेको मान्छे भनेर नयाँ नियुक्ति गरेको होला ।’
यसैबीच, ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मंगलबार राम्रो कुराकानी भएको बताएका छन् ।
थापासँगको भेटवार्ताबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, ‘गगनकुमार थापासँग राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए ।’
उनले थापासँग समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए ।