काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आइजिपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने सरकारको निर्णयले सत्तारूढ दललाई समेत राजनीतिक क्षति पुग्न सक्ने सङ्केत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका पालामा प्रहरी महानिरीक्षक परिवर्तन गर्दा एमालेले भोग्नुपरेको राजनीतिक परिणाम स्मरण गराएका हुन् ।
उनले त्यतिबेला प्रहरी महानिरीक्षकलाई समयअगावै परिवर्तन गर्ने निर्णय एमालेका लागि सुखद् नभएको उल्लेख गरेका छन् । प्रहरी महानिरीक्षकको पुनर्बहालीपछि एमालेले पार्टी विभाजनसम्मको गम्भीर पीडा भोग्नुपरेको उनको भनाइ छ ।
पोखरेलले रास्वपा नेतृत्वको सरकारले विगतको उक्त राजनीतिक घटनाबाट पाठ सिक्न नसकेको टिप्पणीसमेत गरेका छन् ।
सरकारले बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने र डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
पोखरेलको भनाइ जस्ताको तस्तै :
‘हिजो कमरेड वामदेव गौतम गृहमन्त्री रहेका बेला समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको परिणाम नेकपा (एमाले) का लागि सुखद् रहेन । उसले प्रहरी महानिरीक्षकको पुनर्बहालीपश्चात् पार्टी विभाजनसम्मको गहिरो पीडासमेत बेहोर्नुपरेको थियो । रास्वपा नेतृत्वको सरकारले उक्त तितो यथार्थबाट पाठ सिक्न सकेको देखिएन।’