आइतबार, साउन १७ २०८३

आइतबार, साउन १७ २०८३

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

आइतबार, साउन १७ २०८३

काठमाडौँ । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ।

असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा विश्व पर्वतारोहणमा स्थापित पुर्जाको असामयिक निधनले नेपालसँगै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र र उनका लाखौँ समर्थक स्तब्ध भएका छन्।

कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही तथा विदेशी शुभेच्छुकले पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको साहस, समर्पण र नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पुर्‍याएको योगदानको स्मरण गरेका छन्।

प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै निर्मल पुर्जासहित दिवङ्गत सबै आरोहीको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहने बताएका छन् ।

उनले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले ब्रोड पिक दुर्घटनामा निधन भएका सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

राजनीतिक नेतृत्वबाट पनि श्रद्धाञ्जली

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुर्जासँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले पुर्जाको अदम्य साहस र योगदान सम्झनाका रूपमा अनन्तसम्म जीवित रहने उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि पुर्जा कठिन परिस्थितिबाट समेत फर्किन सक्ने व्यक्तित्व भएकाले अन्तिम क्षणसम्म आफू आशावादी रहेको बताएका छन्। ‘प्रोजेक्ट पसिबल’ सुरु हुनुअघि नै पुर्जासँग भेट भएको स्मरण गर्दै थापाले उनीभित्रको आत्मविश्वास र साहस आफूले त्यतिबेलै देखेको उल्लेख गरेका छन् ।

पर्यटन क्षेत्रमा अपूरणीय क्षति

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पुर्जालाई ‘हिमाल जित्ने मानिसमात्र होइन, सपना जगाउने मित्र’का रूपमा स्मरण गरेका छन् ।

उनका अनुसार पुर्जाको लक्ष्य व्यक्तिगत कीर्तिमानमा मात्र सीमित थिएन। सुरक्षित, व्यवस्थित र सम्मानजनक पर्वतारोहण संस्कृति निर्माण, नेपाली गाइड तथा पर्वतारोहीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्ने र नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने अभियानमा उनी निरन्तर सक्रिय थिए ।

पुर्जाको निधनसँगै विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा समर्थकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उजको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानलाई प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।

विशेषगरी ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी कायम गरेको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै असाधारण उपलब्धिमध्ये एकका रूपमा स्मरण गरिएको छ।

ब्रोड पिकमा कसरी भयो दुर्घटना ?

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब ६ हजार ७ सय मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो। टोलीमा ६ नेपाली र चार विदेशी आरोही सहभागी थिए।

दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के–२ क्षेत्रमा रहेका अनुभवी आरोही परिचालन गरिएको थियो। प्रतिनिधिसभा सदस्य तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पासमेत खोजी अभियानमा सहभागी हुनुभएको थियो। व्यापक खोजीपछि पुर्जासहित सबै आरोहीको निधन भएको पुष्टि गरिएको हो।

२५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो। बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उनी बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिस (एसबीएस)मा छनोट हुने पहिलो नेपाली बनेका थिए ।

सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। यसअघि कायम सात वर्ष पुरानो कीर्तिमान तोड्दै उनले नेपालको नाम विश्व पर्वतारोहणमा थप उचाइमा पुर्‍याएका थिए ।

पुर्जाले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्द्धनको अभियानका रूपमा अघि बढाएका थिए ।

निर्मल पुर्जा भौतिक रूपमा हामीमाझ नरहे पनि उनले छाडेर गएकाे साहस, नेतृत्व, अनुशासन, मानवता र असम्भवलाई सम्भव बनाउने आत्मविश्वास नेपाली समाज तथा विश्व पर्वतारोहण समुदायका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ।

उनको जीवनले दृढ इच्छाशक्ति, कठोर परिश्रम र आत्मविश्वासका साथ असम्भव देखिने लक्ष्यसमेत हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

निम्स दाइको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको अदम्य साहस, समर्पण र योगदान इतिहासमा सधैँ अमर रहनेछ। ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण आरोहीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।