मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बागमतीमा सरकार गठनको गृहकार्य तीव्र, बहुमत जुटाउन दलहरूबीच छलफल

सोमबार, साउन ११ २०८३

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरूले छलफललाई तीव्र बनाएका छन्। नेकपा (एमाले)ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सत्ता समीकरणको प्रयास सुरु भएको हो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपा (माओवादी केन्द्र)का २६, नेकपा (एमाले)का २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन तथा हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

केन्द्रमा एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्यको सहमति भए पनि बागमती प्रदेशमा यी दुई दलको मात्र समर्थनले बहुमत नपुग्ने भएकाले अन्य दलको साथ आवश्यक पर्ने अवस्था छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार गठनका लागि माओवादी केन्द्रसहित सम्भावित साझेदार दलहरूसँग निरन्तर छलफल भइरहेको बताए।

उता, प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासलाई अघि बढाएको छ। कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनका अनुसार सरकार गठनका विषयमा राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल जारी छ।

बहुमतका लागि आवश्यक संख्या कुनै एक पक्षसँग स्पष्ट रूपमा नदेखिएकाले बागमती प्रदेशको नयाँ सरकार गठनका लागि आगामी राजनीतिक छलफल र साना दलहरूको भूमिकालाई निर्णायक रूपमा हेरिएको छ।