बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सोमवार उद्घाटन हुँदै नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग

आइतबार, साउन १० २०८३

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने भएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ। इभ्याकुएसन टनेल (निकास मार्ग) र क्रस–प्यासेजसहित सुरुङको कुल लम्बाइ करिब ५.५ किलोमिटर रहेको छ।

वि.सं. २०७६ मा जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले निर्माण सुरु गरेको यो आयोजना ‘बिल अफ क्वान्टिटी (बीओक्यु)’ मोडलमा सडक विभागले आफैं डिजाइन र जापानी परामर्शदाताको प्राविधिक सहयोगमा कार्यान्वयन गरेको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रारम्भमा अत्यावश्यक सवारीलाई मात्रै अनुमति

उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइने सडक विभागले जनाएको छ।

महानिर्देशक जैसीका अनुसार उद्घाटनको एक साताभित्र सुरुङभित्र हुन सक्ने आगलागी वा अन्य आकस्मिक घटनाको तयारीका लागि ‘मक ड्रिल’ गरिनेछ। त्यसपछि करिब एक सातासम्म एकतर्फी रूपमा परीक्षण सञ्चालन गरिनेछ।

परीक्षण अवधिमा जेट फ्यान, भेन्टिलेसन प्रणाली, वायु उत्सर्जन र अन्य सुरक्षा उपकरणको प्राविधिक परीक्षण सम्पन्न भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ।