बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित, न्युजिल्यान्डलाई ३–१ ले हरायाे

सोमबार, असार ८ २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को रोमाञ्चक खेलमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। क्यानाडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा भएको खेलमा पहिलो हाफमा पछि परेको इजिप्टले दोस्रो हाफमा सशक्त प्रदर्शन गर्दै ऐतिहासिक जित निकालेको हो।

यो जित इजिप्टका लागि विशेष महत्त्वको बनेको छ। विश्वकप इतिहासमा सहभागी भएको ९२ वर्षपछि र नौ खेलको प्रतीक्षापछि इजिप्टले पहिलो पटक विश्वकपमा जितको स्वाद चाख्न सफल भएको छ। लामो समयदेखि जारी निराशाजनक यात्राको अन्त्य गर्दै इजिप्टले विश्व फुटबलमा नयाँ इतिहास रचेको छ।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको न्युजिल्यान्डले पहिलो हाफमा अग्रता बनाएको थियो। उसका लागि फिन सुरम्यानले शक्तिशाली हेडरमार्फत गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याएका थिए। इजिप्टले बराबरीका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा पछि रह्यो।

तर दोस्रो हाफमा इजिप्ट पूर्ण रूपमा फरक लयमा मैदानमा प्रस्तुत भयो। खेलको दोस्रो अर्धमा मात्र २४ मिनेटको अवधिमा तीन गोल गर्दै उसले खेलको नतिजा आफ्नो पक्षमा पार्यो।

मोस्ताफा जिकोले इजिप्टका लागि बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए। त्यसपछि टोलीका कप्तान तथा स्टार फरवार्ड मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। अग्रता पाएपछि थप आत्मविश्वासका साथ खेलेको इजिप्टले खेलको ८२औँ मिनेटमा तेस्रो गोल थप्यो।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ट्रेजेगेटले मोहम्मद सलाहको कर्नरलाई उत्कृष्ट रूपमा जाली चुमाउँदै स्कोर ३–१ बनाए। यही गोलले इजिप्टको ऐतिहासिक जित सुनिश्चित गर्यो।

पहिलो हाफमा प्रभावशाली देखिएको न्युजिल्यान्ड दोस्रो हाफमा इजिप्टको तीव्र आक्रमण र दबाब सामना गर्न असफल रह्यो। जितसँगै इजिप्ट समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। विश्वकप इतिहासको पहिलो जितले इजिप्टका समर्थकहरूलाई नयाँ आशा र उत्साह प्रदान गरेको छ।