काठमाडौं । कप्तान लियोनल मेस्सीको शानदार ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।
अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले एक्लैले तीनै गोल गरे। छैटौँ पटक विश्वकप खेलिरहेका मेस्सीले आफ्नो विश्वकप करियरमा पहिलोपटक ह्याट्रिक पूरा गर्दै नयाँ इतिहास बनाए।
मेस्सीले खेलको १७औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। दोस्रो हाफमा थप आक्रामक देखिएका उनले ६०औँ र ७६औँ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे।
खेलको सुरुवातमै मेस्सीले अर्को गोल गरेका थिए। तर अफसाइडका कारण उक्त गोलले मान्यता पाएन। यस्तै, अल्जेरियाले गरेको एक गोल पनि अफसाइडकै कारण रद्द भयो।
यस जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा तीन अंक जोड्दै शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ।
मेस्सीको यो ऐतिहासिक ह्याट्रिकसँगै उनले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरेका छन्। विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याउँदै उनले जर्मनीका महान् खेलाडी मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरे।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए। उनले सन् २०१० को विश्वकपबाहेक पाँच संस्करणमा गोल गर्न सफल भएका छन्।
कतारमा सम्पन्न विश्वकप–२०२२ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सीले यसपटक पनि टोलीलाई उपाधिको यात्रामा बलियो सुरुवात गराएका छन्।
यस्तै, विश्वकप इतिहासमा आफ्नो खेल संख्या २७ पुर्याउँदै मेस्सीले अर्को कीर्तिमानसमेत कायम गरेका छन्।