बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लगातार दोस्रो पटक आईपीएल च्याम्पियन बन्यो आरसीबी

सोमबार, जेष्ठ १८ २०८३

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जित्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने गौरव हासिल गरेको छ। फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै आरसीबीले आफ्नो दोस्रो आईपीएल ट्रफी उचालेको हो।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनायो। गुजरातका लागि वासिङ्टन सुन्दरले अविजित ५० रनको महत्वपूर्ण इनिङ्स खेलेर टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले आक्रामक सुरुआत गर्‍यो। वेंकटेश अय्यर र विराट कोहलीले पहिलो विकेटका लागि ४.३ ओभरमै ६२ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। अय्यर १६ बलमा ३२ रन बनाएर आउट भए।

त्यसपछि देवदत्त पडिक्कल (१), कप्तान रजत पाटीदार (१५) र क्रुणाल पाण्ड्या (१) सस्तोमा आउट हुँदा आरसीबी केही दबाबमा परेको थियो। तर अनुभवी ब्याट्सम्यान विराट कोहलीले एक छेउ सम्हाल्दै टोलीलाई जिततर्फ डोर्‍याए।

कोहलीले टिम डेभिडसँग चौथो विकेटका लागि ४१ रनको महत्वपूर्ण साझेदारी गरे। डेभिड २४ रन बनाएर आउट भए पनि कोहली अन्तिमसम्म क्रिजमा टिके। उनले २५ बलमै अर्धशतक पूरा गर्दै आईपीएल करियरकै सबैभन्दा छिटो अर्धशतक बनाए। कोहलीले ४२ बलमा ७५ रनको अविजित इनिङ्स खेल्दा ९ चौका र ३ छक्का प्रहार गरे।

१८औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आरसीबीलाई विजयी बनाएका थिए। जितेश शर्माले ११ रनमा अविजित रहँदै उनको साथ दिएका थिए। आरसीबीले १८ ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

यसअघि गुजरातका कप्तान शुभमन गिल १० रन र साई सुदर्शन १२ रनमै आउट भएपछि टोलीले राम्रो सुरुआत गर्न सकेन। जोस बटलरले १९, निशान्त सिन्धुले २० तथा अर्शद खानले १५ रन जोडे। वासिङ्टन सुन्दरले ३७ बलमा अविजित ५० रन बनाए पनि टोलीलाई ठूलो स्कोरतर्फ लैजान सकेनन्।

आरसीबीका बलरमध्ये रसिख सलाम डार सर्वाधिक सफल रहे। उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। जोश हेजलउड र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए भने क्रुणाल पाण्ड्याले १ विकेट हात पारे।

२०२५ मा पहिलो पटक आईपीएल उपाधि जित्दै १८ वर्षको प्रतीक्षा अन्त्य गरेको आरसीबीले २०२६ मा पनि ट्रफी जितेर आफ्नो प्रभुत्व कायम राखेको छ। आईपीएल इतिहासमा पाँचौँ पटक फाइनल खेलेको आरसीबीले लगातार दोस्रो वर्ष च्याम्पियन बन्दै नयाँ कीर्तिमानसमेत रचेको छ।