काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली नेपालले ब्याटिङको जिम्मेवारी पाएको हो ।
नेपालले अघिल्लो खेलमा स्कटल्यान्डलाई पराजित गरेको पहिलो रोजाइँकै टोलीलाई निरन्तरता दिएको छ । नेपाल र अमेरिकाले दुवैले आफ्नो पछिल्लो खेलमा स्कटल्यान्डलाई हराएका थिए ।
दुवै टोलीले आज लिग–२ अन्तर्गत २८औँ खेल खेलिरहेका छन् । अमेरिकी टिम २७ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल टीम समान खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा छ ।
आजको खेल जित्न सके नेपालले शीर्ष चारमा पुग्ने सम्भावनालाई थप बलियो बनाउनेछ । साथै घरेलु भूमिमा भइरहेको शृंखला सुखद रूपमा टुङ्ग्याउने अवसर पनि नेपालसँग रहेको छ ।
यसअघि नेपालले युएई र ओमान सम्मिलित शृंखलामा चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको थियो । हाल जारी शृंखलामा नेपालले तीन खेल खेल्दा दुई जित र एक हारको नतिजा निकालेको छ । अन्तिम खेलमा जित निकाल्दै शृंखलामा तेस्रो जित हासिल गर्ने लक्ष्य नेपालले राखेको छ ।