काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी जारी शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भएका छन् । स्कटल्याण्डले खेलेका दुवै खेलमा जित हात पार्दै उत्कृष्ट प्रदर्शन गरेको छ । उसले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अमेरिकाविरुद्ध पनि समान दुई रनको जित निकालेको थियो ।
यसअघि शनिबार भएको खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको थियो । आजको खेलमा पनि नेपाल स्कटल्याण्डलाई हराउँदै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनालाई जीवित राख्ने लक्ष्यमा हुनेछ ।
लिग–२ को अंक तालिकामा नेपाल हाल सातौँ स्थानमा रहेको छ । नेपालले २६ खेलमध्ये नौ खेल जितेको, १५ खेल गुमाएको तथा दुई खेल अनिर्णित खेलेको छ । नेपालसँग हाल २० अंक रहेको छ । विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुन नेपालले अब बाँकी सबै १० खेल जित्नुपर्ने दबाब छ । साथै एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानभित्र रहन आवश्यक रहेको छ ।
यता स्कटल्याण्ड भने तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले ३० खेलमध्ये १६ खेल जितेको, आठ खेल हारेको तथा छ खेल अनिर्णित खेलेको छ । स्कटल्याण्डको कुल ३८ अंक रहेको छ ।