एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भएको उच्चस्तरीय वार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरेका छन् ।
बेइजिङमा आयोजित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई “धेरै सफल” भएको बताउँदै व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा महत्त्वपूर्ण समझदारी बनेको उल्लेख गरे ।
वार्तापछि चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइ नजिकै राष्ट्रपति सीसँग सँगै हिँड्दै ट्रम्पले दुवै देशका लागि लाभदायक हुने व्यापारिक सहमति सम्पन्न भएको प्रतिक्रिया दिएका थिए ।
ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले बेइजिङ भ्रमण गरेको बताइएको छ । मध्यपूर्वको तनाव र विश्वव्यापी रणनीतिक मतभेदका विषयमा पनि दुवै नेताबीच छलफल भएको थियो ।
राष्ट्रपति सी जिनपिङले भ्रमणलाई “ऐतिहासिक महत्त्वको” भन्दै अमेरिका–चीन सम्बन्धलाई “रचनात्मक रणनीतिक स्थिरता” मा आधारित नयाँ दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले भविष्यमा सम्बन्धलाई थप सन्तुलित र स्थिर बनाउने विश्वाससमेत व्यक्त गरे ।
सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई व्हाइट हाउस को रोज गार्डेनका लागि चिनियाँ फूलका बिउ पठाउने वाचा पनि गरेका थिए । यसलाई दुई नेताबीचको व्यक्तिगत सम्बन्ध सुदृढ गर्ने साङ्केतिक पहलका रूपमा हेरिएको छ ।
फाेक्स न्यूज सँगको अन्तर्वार्तामा ट्रम्पले चीन अमेरिकी प्राथमिकताका धेरै विषयमा सकारात्मक देखिएको बताए । उनका अनुसार चीनले बाेइङ का २०० वटा ठूला जेट विमान खरिद गर्ने समझदारी जनाएको छ, यद्यपि यसबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।
ट्रम्पले चीनले अमेरिकी तेल र सोयाबिन खरिदमा पनि चासो देखाएको जानकारी दिए । पछिल्ला वर्षमा व्यापारिक तनावका कारण चीनले अमेरिकी कृषि उत्पादनको खरिद घटाउँदै ब्राजिलतर्फ झुकेको थियो । नयाँ समझदारीले अमेरिकी कृषि बजारलाई राहत दिनसक्ने विश्लेषण गरिएको छ ।
भेटवार्ताका क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको अमेरिकी पक्षले जनाएको छ । ट्रम्पका अनुसार राष्ट्रपति सीले इरानलाई सैन्य सहयोग उपलब्ध गराउने चीनको कुनै योजना नरहेको स्पष्ट पारेका थिए । साथै विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी खुला राख्नुपर्ने पक्षमा चीन रहेको उनले उल्लेख गरे ।
यसैबीच चिनियाँ विदेश मन्त्रालय ले जारी गरेको वक्तव्यमा “व्यापक र दिगो युद्धविराम” को आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय ढुवानी मार्गहरू सामान्य अवस्थामा फर्काइनुपर्ने जनाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट ले ट्रम्प र सीबीच एआईको सुरक्षित तथा जिम्मेवार प्रयोगका लागि साझा नियामकीय सीमारेखा निर्माणबारे पनि छलफल भएको जानकारी दिए । उनले विश्वका “दुई एआई महाशक्ति” बीच संवाद सुरु हुनु महत्त्वपूर्ण भएको बताए ।
यद्यपि उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण तथा चिनियाँ प्रविधि पहुँचसम्बन्धी विवाद अझै संवेदनशील विषयका रूपमा कायम रहेको विश्लेषण गरिएको छ ।