काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गृहमन्त्री सुधन गुरुङको नाममा शेयर स्वामित्व रहेको कागजात सार्वजनिक भएपछि उनीमाथि राजीनामाको दबाब बढेको छ । सोही दबाबबीच गृहमन्त्री गुरुङ आइतबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गुरुङ आइतबार साँझ करिब ८ बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए भने करिब १० बजेपछि त्यहाँबाट बाहिरिएका थिए । भेटका क्रममा तत्कालीन राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।
भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङको नाममा समेत साझेदारी रहेको विवरण सार्वजनिक भएपछि सत्तारूढ र प्रतिपक्ष दुवै पक्षबाट आलोचना र राजीनामाको माग उठिरहेको छ । अनुसन्धानको दायरामा रहेको कम्पनीमा मन्त्री स्वयं जोडिएको विषयले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रश्न उठाइँदै आएको छ ।
रास्वपा स्रोतका अनुसार भेटका क्रममा गुरुङले प्रधानमन्त्री र सभापति लामिछानेबीच फोन संवाद गराउँदै राजीनामासम्बन्धी दबाब व्यवस्थापन गर्ने प्रयास गरेका थिए । तर सभापति लामिछानेले पार्टीको बैठक जारी रहेको र आफ्नो धारणा बैठकमै राख्न सकिने बताएका थिए ।
यसैबीच, उक्त प्रकरणलाई लिएर राजनीतिक वृत्तमा थप प्रतिक्रिया र दबाब बढ्ने संकेत देखिएको छ भने आधिकारिक प्रतिक्रिया भने सम्बन्धित पक्षबाट आउन बाँकी छ ।