काठमाडौं । गृहमन्त्री सुदन गुरुङ र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका बिचौलिया दिपक भट्टबीच आर्थिक सम्बन्ध रहेको प्रमाण बाहिर आएको दाबी गरिएको छ। सार्वजनिक भएका कागजात तथा बैंक कारोबार विवरणले दुवैबीच रकम लेनदेन भएको संकेत गरेका छन्।
स्रोतका अनुसार भट्टको खाताबाट गुरुङ निकट व्यक्तिहरूको खातामा रकम जम्मा भएको विवरण फेला परेको छ भने केही कारोबार प्रत्यक्ष रूपमा पनि भएको बताइएको छ। उक्त विषय सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।
विपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले मन्त्री पदमा रहेका व्यक्तिसँग यस्तो प्रकृतिको आर्थिक सम्बन्ध देखिनु गम्भीर विषय भएको बताएका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यावसायिक सम्बन्ध सार्वजनिक भएपछि राजनीतिक तथा सार्वजनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।
सार्वजनिक विवरणअनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा गुरुङ र भट्टबीच साझेदारी रहेको देखिएको छ।
यसैबीच मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने क्रममा गुरुङको नाम अस्वाभाविक सम्पत्तिसम्बन्धी बहसमा समेत जोडिएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले केवल सेयर लगानीकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएका छन्। तर, यदि उक्त लगानी गैरकानुनी देखिएमा वा अनुसन्धानबाट कुनै दोष पुष्टि भएमा पार्टीले कसैलाई पनि नछोड्ने स्पष्ट पारे।
“सेयर लगानी गर्नु आफैंमा अपराध होइन। तर, त्यो कसरी र कुन स्रोतबाट गरिएको हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,” बुर्लाकोटीले भने, “मिडियामा विषय आएपछि सरकारले पनि अनुसन्धान अघि बढाउँछ। दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाही हुन्छ।”
यता गृहमन्त्री गुरुङ पक्षले भने आरोप अस्वीकार गर्दै राजनीतिक रूपमा बदनाम गराउने उद्देश्यले भ्रामक प्रचार गरिएको प्रतिक्रिया दिएको छ। मन्त्रालयले आवश्यक परे कानुनी प्रक्रियामार्फत स्पष्ट पारिने जनाएको छ।

