काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक साताभित्र मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् । उनका अनुसार आन्दोलन महाअभियानअन्तर्गतको विद्यार्थी संगठनको नेतृत्वमा सञ्चालन गरिनेछ ।
प्रसाईंले विद्यार्थी संगठन खारेज गर्ने कुनै पनि प्रयास नगर्न सरकारलाई चेतावनी दिँदै विगतमा सामान्य मूल्यवृद्धिमा समेत विद्यार्थी संगठनहरू सक्रिय हुने गरे पनि अहिले ठूलो मूल्यवृद्धिमा मौन रहेको भन्दै असन्तुष्टि जनाए ।
त्यसैगरी उनले सरकारले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्नुपर्ने मागसमेत अघि सारे । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै उनले ती सम्झौता खारेज गर्न वर्तमान सरकारलाई दबाब दिए ।
प्रसाईंले मन्त्रिपरिषद्बाट निर्णय गरेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग पनि राखे । सरकारसँग बहुमत रहेको भन्दै निर्णय गर्न ढिलाइ नगर्न उनले आग्रह गरे ।
त्यस्तै, उनले राजसंस्था पुनःस्थापनाको मागसमेत अघि सार्दै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना भए चुनावको आवश्यकता नपर्ने दाबी गरे ।
साथै, सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा राख्दै उनले विवादित विषयहरू समाधान गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।