बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

हावाहुरीबाट मधेस प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

आइतबार, बैशाख ६ २०८३

सिरहा । शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

मृतक सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती घरमै बसिरहेका बेला आएको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । त्यसपछि पर्खाल भत्किँदा इँटा टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले मुचुल्का उठाएर शव परीक्षणका लागि पठाएको जनाएको छ ।

गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनेको छ । अन्य क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।