बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनआरएनलाई ढुक्क भएर नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आइतबार, चैत्र १ २०८२

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि अनुकूल वातावरण बनेको बताए ।

उनले विशेषगरी जलविद्युत, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै एनआरएनहरूलाई सक्रिय रूपमा लगानी गर्न आह्वान गरेका छन् ।

विश्वभर भइरहेका द्वन्द्व र काेभिड १९ जस्ता महामारीको उदाहरण दिँदै उनले जुनसुकै परिस्थितिमा पनि अन्ततः फर्किने ठाउँ आफ्नै मातृभूमि हुने बताए। विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेको लगानीमा उचित साझेदार नपाउँदा वा सही क्षेत्रमा लगानी नहुँदा समस्या आएको सुनिए पनि ती घटना अपवाद मात्रै भएको उनको भनाइ छ।

नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’सँग महासंघले सहकार्य गरी एउटा परियोजना अघि बढाइसकेको जानकारी दिँदै ढकालले संस्थागत लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए उहाँका अनुसार मुलुकमा अहिले स्थायी सरकार बनेकाले निजी क्षेत्र र एनआरएनहरूले अपेक्षा गरेको राजनीतिक स्थिरता प्राप्त भएको छ।

महासंघकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्न विभिन्न कानुन परिमार्जन भइरहेको जानकारी पनि उनले दिए। बाँकी रहेका नीतिगत झन्झटहरू हटाउन निजी क्षेत्र एनआरएनहरूसँग सहकार्य गर्दै सरकारसँग आवश्यक लबिङ गर्न तयार रहेको पनि उनले बताए ।

अध्यक्ष ढकालले नेपालमा पुँजी र सम्भावना छैन भन्ने नकारात्मक धारणा चिर्न महासंघ, सीएनआई, चेम्बर र एनआरएनको सहभागितामा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ कम्पनी स्थापना गरी काम सुरु भइसकेको जानकारी दिए। विदेशमा रहेका नेपालीहरूले आफ्नो आम्दानीको केही अंश जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा खनिज र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनको सुझाव छ।

साथै, एनआरएनहरूसँग कुनै नयाँ नवप्रवर्तन (इनोभेसन) वा परियोजना भएमा त्यसमा एनडीपी कम्पनीले इक्विटीका रूपमा लगानी गर्ने घोषणा पनि उनले गरे ।