काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा स्थानीय बासिन्दाले पुनः अवरोध गरेपछि काठमाडौं उपत्यकाबाट लैजाने फोहोर विसर्जन फेरि रोकिएको छ।
स्थानीयवासीले यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न नदिएको बताएका छन्। उनीहरूले सहमति पूर्ण रूपमा कार्यान्वयन नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान लिँदै काठमाडौं उपत्यकाबाट फोहोर बोकेर पुगेका गाडीलाई फर्काएका छन्।
यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्रीले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटाइएको थियो। तर, उक्त प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्थानीयले पुनः आन्दोलन सुरु गरेका हुन्।
नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिका–१, ३ र ४ का प्रभावित बासिन्दाले दुई जिल्लाको सीमास्थित ढाँडेस्थित सडकमा बसेर फोहोर बोकेका सवारी साधनलाई ल्यान्डफिल साइटतर्फ जान नदिएको जनाइएको छ।
स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरूले पनि आन्दोलनरत स्थानीयलाई समर्थन जनाउँदै समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्।