काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारीका कारण राहदानी वितरण सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ।
विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गर्दा अन्तरिम अवस्थामा प्रणाली पूर्ण रूपमा स्थिर नहुन्जेल सेवा प्रवाहमा अवरोध आउन सक्नेछ।
विभागले जारी गरेको सूचनामा उल्लेख गरिएअनुसार अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुन सक्नेछ। त्यस्तै विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा करिब एक हप्तासम्म बन्द हुन सक्ने बताइएको छ।
नयाँ प्रणाली लागू भएपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने विभागले जनाएको छ। त्यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत राहदानीका लागि आवेदन दिने सेवाग्राहीले राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय कुर्नुपर्ने सम्भावना पनि रहेको छ।
विभागले आगामी ६ महिनाभित्र अर्थात् २०८३ असोजभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा विभागबाट राहदानी सेवा लिन आग्रह गरेको छ।
नयाँ प्रणाली कार्यान्वयन सुरु हुने मिति तथा सो अवधिमा अपनाइने व्यवस्थाबारे अर्को सूचनामार्फत जानकारी गराइने विभागले जनाएको छ।
