काठमाडौं । म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयाेगमा पेश गरेका छन्।
पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन्। पेश गरिएको विवरणअनुसार सबैभन्दा बढी रकम होटलमा खाना र बसोबासका लागि खर्च भएको देखिएको छ, जसमा १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यसैगरी चालकको ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ खर्च भएको छ भने यातायाततर्फ ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। इन्धनतर्फ डिजेलमा मात्रै ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च भएको देखिएको छ।
निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचनपछि निर्धारित समयभित्र आफ्नो खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।