काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायताका लागि सञ्चालन गरिएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६५ हजार ८८६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार दर्ता भएका विवरणको अध्ययन गरी आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाइएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्किएपछि नेपाली नागरिकको अवस्था बुझ्न र आवश्यक परे उद्धारका लागि यही फागुन १८ गतेदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो।
विभागका महानिर्देशक दुपर्दा सापकोटाका अनुसार उक्त पोर्टलमार्फत पश्चिम एसियास्थित नेपाली राजदूतावासहरूबाट पनि नेपाली नागरिकको विवरण सङ्कलन गर्ने कार्य जारी छ।
पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न मन्त्रालय तथा त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। उनका अनुसार समस्यामा परेका नेपालीको उद्धार तथा सहायताका लागि सम्बन्धित नियोगहरूले निरन्तर समन्वय गरिरहेका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बुधबार बसेको दोस्रो बैठकले पश्चिम एसियास्थित सबै नेपाली नियोगलाई समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य माध्यमबाट सम्पर्क गरी मनोबल बढाउन तथा उनीहरूको अवस्थाबारे प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ।
यसैबीच मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन आग्रह गर्दै स्थानीय कानुनविपरीत हुने गरी कुनै पनि प्रकारका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदानप्रदान नगर्न अनुरोध गरेको छ।