काठमाडौँ। प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको भन्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले वायु प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सतर्क रहन आग्रह गरिएको जानकारी दिए।
प्रहरीले नागकिरमा जारी गरेको छ बुँदे अनुरोधमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सकेसम्म समूहमा वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारी साधन कम प्रयोग गर्न, वरिपरि आगो लगाएर फोहर नजलाउन र वायु प्रदूषण उच्च भएको समयमा घरबाहिर गतिविधि नगर्न निर्देशन दिइएको छ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरूले थप सावधानी अपनाउनुपर्ने बताइएको छ। प्रहरीले नियमित मास्कको प्रयोग अनिवार्य गर्न र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएमा नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
मौसममा आएको बदलीसँगै नेपालमा वायु प्रदूषणको मात्रा बढिरहेको छ र उपत्यका तथा अन्य सहरी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ। स्वास्थ्य मन्त्रालयले पनि यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न सर्वसाधारणलाई अनुरोध गरिसकेको छ।