काठमाडौँ । आईक्यू एअरको पछिल्लो तथ्यांकअनुसार बुधबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक १९७ पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिले ‘अति अस्वस्थकर’ मानिन्छ। यससँगै काठमाडौं विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ।
विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा भारतको दिल्ली २१६ अंकसहित पहिलो स्थानमा छ भने पाकिस्तानको लाहोर १८२ अंकसहित तेस्रो स्थानमा रहेको छ। बंगलादेशको ढाका १७९ अंकसहित चौथो स्थानमा छ। अफ्रिकी मुलुक युगान्डाको कम्पाला पाँचौं स्थानमा रहेको छ भने भारतका मुम्बई र कोलकाता क्रमशः छैटौं र सातौं स्थानमा छन्।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा हुने भएकाले विज्ञहरूले सर्वसाधारणलाई मास्कको प्रयोग गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, र बिहानको समयमा घरबाहिर गरिने व्यायाम कम गर्न सुझाव दिएका छन्।
काठमाडौंको वायु प्रदूषणको मुख्य कारणका रूपमा लामो समयदेखि वर्षा नहुनु, सवारी साधनको धुवाँ, निर्माण कार्यबाट निस्कने धूलो लगायतलाई मानिएको छ।