झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषध खैरो हिरोइनसहित एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बुढा यति एयरलायन्सको उडान नम्बर ९२६ मार्फत काठमाडौँ जान लागेकी थिइन्। सोमबार अपराह्न करिब ५ः३५ बजे विमानस्थल सुरक्षा जाँचका क्रममा उनको सुरुवालको दुवै गोजीबाट १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो।
प्रहरीका अनुसार उनी विगत दुई वर्षदेखि भारतको कोलकातास्थित एक जापानिज रेस्टुरेन्टमा वेटरका रूपमा कार्यरत थिइन्। हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
उनको बयानका आधारमा लागूऔषध कारोबारमा संलग्न थप दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौँबाट खटिएको टोलीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो।
प्रहरीले लागूऔषध कारोबारको सञ्जालबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।