मोरङ । मोरङको रंगेली नगरपालिकामा एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार बिहान करिब पौने ३ बजेतिर भएको उक्त घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा पुगेर आफ्नी पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् । प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार बेलुका ससुराली घर पुगेका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार घरेलु विवादका क्रममा कुटपिट हुँदै मुकेशले श्रीमती अम्बिकामाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पत्नीको मृत्यु भएपछि मुकेशले पनि सोही चक्कु प्रयोग गरी आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी लामिछानेले जानकारी दिनुभयो । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
हाल दुवै जनाको शव घटनास्थलमै रहेको र घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल स्वयं घटनास्थलमा पुग्नुभएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलमा मुचुल्का उठाउने लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरिरहेको छ ।
घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।