शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

म्याग्दीको जङ्गलमा लुकाइएका दुई थान भरुवा बन्दुक बरामद

मंगलबार, माघ २० २०८२

 म्याग्दी । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–५ अन्तर्गत झीँ गाउँ नजिकको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखिएका दुई थान भरुवा बन्दुक फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले सोमबार पाखापानी क्षेत्रको जङ्गलबाट ती भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा लुकाएर रातिको समयमा चोरीसिकारीमा प्रयोग गर्ने उद्देश्यले राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा अवैध रूपमा प्रयोग भइरहेका भरुवा बन्दुकले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध हतियार खोज अभियानअन्तर्गत यसअघि ११५ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सोमबार फेला परेका बन्दुक पनि सोही अभियानअन्तर्गत खोजीका क्रममा बरामद गरिएको उनले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले मङ्सिर १५ गतेदेखि जिल्लाभरका प्रहरी युनिट परिचालन गरी ‘ब्राभो शेरा’ नाम दिइएको अभियान सञ्चालन गर्दै इजाजत प्राप्त नगरेका भरुवा बन्दुकको खोज, बरामद तथा सङ्कलन गर्दै आएको छ । निर्वाचनको समयमा लुकाइराखिएका हतियार प्रयोगमा आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागको परिपत्रअनुसार खोजतलास तीव्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११, अन्नपूर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८, मङ्गला गाउँपालिकाबाट १४, मालिका गाउँपालिकाबाट २० र धवलागिरि गाउँपालिकाबाट ६ थान गरी कुल ११५ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध रूपमा राखिएका भरुवा बन्दुक भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउन वा जानकारी गराउन सबैलाई आग्रह गरेको छ । अवैध हतियारसहित फेला परेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको कानुनी व्यवस्था रहेको पनि प्रहरीले स्मरण गराएको छ ।