काठमाडौं । पूर्व खानेपानी मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।
यादव गएराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन्।
सो अवसरमा अध्यक्ष ओलीले यादवलाई स्वागत गर्दै आगामी निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाउने तयारी भइरहेको संकेत गरेका छन्
यसअघि पनि यादव यही क्षेत्रबाट निर्वाचित हुँदै संसद् प्रवेश गरेका थिए। जसपाबाट एमालेमा उहाँको प्रवेशसँगै पर्सा क्षेत्रको राजनीतिक समीकरणमा नयाँ चर्चा र चासो बढेको छ।
यसैबीच, नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्व मन्त्री इस्तियाक राय, बाँकेका पूर्व मन्त्री प्रदीप यादव, पर्सा–वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, १४ जना वडा अध्यक्षहरू तथा कांग्रेस केन्द्रीय सदस्य डा अबुल हुसेन अन्सारी (सुनसरी)लाई एमालेमा स्वागत तथा शुभकामना व्यक्त गरेका छन्।
सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत उनीहरूलाई स्वागत गर्दै राजनीतिक सहकार्य र सकारात्मक भूमिकाको अपेक्षा व्यक्त गरे। उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै विकास र समृद्धिको यात्रामा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।