काठमाडाैं । अन्तर्राष्ट्रिय होटल शृङ्खला मेरियट इन्टरनेशनल अन्तर्गतको ब्रान्ड मोक्सी होटल्स ले नेपालमा औपचारिक रूपमा प्रवेश गरेको छ। राजधानी काठमाडौंको प्रमुख व्यावसायिक तथा पर्यटकीय क्षेत्र दरबारमार्गमा ‘मोक्सी काठमाडौं’ सञ्चालनमा आएको हो।
व्यवसायी गौरव अग्रवालको स्वामित्वमा रहेको मोक्सी काठमाडौं नेपालमा उनको तेस्रो मेरियट ब्रान्डको होटल हो। यसअघि उनले काठमाडौं मेरियट होटल र फेयरफिल्ड बाइ मेरियट काठमाडौं सञ्चालन गर्दै आएका छन्। उनका यी होटलहरूले अन्तर्राष्ट्रिय स्तरको सेवा र व्यवस्थापनमार्फत नेपाली आतिथ्य उद्योगमा राम्रो पहिचान बनाइसकेका छन्।
मोक्सी काठमाडौं विशेषगरी युवा पुस्ता, आधुनिक जीवनशैली मन पराउने पाहुना र सहर केन्द्रित यात्रुलाई लक्षित गरी डिजाइन गरिएको छ। आधुनिक सजावट, प्रविधिमैत्री सेवा र ऊर्जाशील वातावरणका कारण यस होटलले दरबारमार्ग क्षेत्रको पर्यटन र व्यवसायिक गतिविधिमा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ।
मेरियट इन्टरनेशनलको विश्वव्यापी ब्रान्ड मूल्य र गौरव अग्रवालको अनुभवयुक्त नेतृत्वमा सञ्चालनमा आएको मोक्सी काठमाडौंले नेपालको होटल व्यवसायलाई अझ प्रतिस्पर्धी, आधुनिक र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास गरिएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करीब १५ मिनेट दूरीमा रहेको यो होटलबाट दरबार स्क्वायर, स्वयम्भू (मंकी टेम्पल), ठमेल लगायतका पर्यटकीय स्थल सहजै पुग्न सकिन्छ । होटलमा आर्ट ग्यालरी, क्याफे, रूफटप लाउञ्ज, लाइभ म्युजिकलगायत सुविधा छन् ।
१०१ स्मार्ट गेस्ट–रूम रहेको उक्त होटलमा ५५ इन्च स्मार्ट टिभी, मोड्युलर फर्निचरजस्ता सुविधा छन् । यस्तै मोक्सी बार, प्लेफुल रिक्रिएसन जोनको सुविधा पनि होटलमा उपलब्ध रहेको होटलले जनाएको छ ।
उक्त होटलको लेभल ११ मा ल्याटिन अमेरिकी बार र रेस्टुरेन्ट रहेको छ, जहाँ मेक्सिकन सेफ मार्टिन हर्नान्डेज लोपेजद्वारा क्युरेट गरिएको स्वाद लिन सकिन्छ ।
मेरियट इन्टरनेशनलका दक्षिण एसिया क्षेत्रका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकटले नेपालमा यो ब्रान्ड ल्याउन पाएकोमा खुशी व्यक्त गरे । यो दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो ।