शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

बिहिबार, पुष २४ २०८२

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम सहित भारत बहराईज ग्राम लौकाही बस्ने ३१ वर्षीय फिरोज खानलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँके र प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले २ जना मानिसहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी आक्रमण गर्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरू मध्ये फिरोजलाई नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते भएका फिरोजको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय गोबिन्द जोशीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने बाग्मती गाउँपलिका–७ गिम्दी घर भएका १९ वर्षीय राजकिशोर सन्जेललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने १९ वर्षीय सुरज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्साको बिन्दवासिनी गाउँपालिका–२ गर्दौल चोक नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१५ मुर्ली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका–८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही महानगरपालिका–१६ फुलबारी टोल बस्ने २० वर्षीय बिकी रायलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङको सुनवर्षी नगरपाललिका–१ र २ को सिमाना गिरदलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका–६ बस्ने २९ वर्षीय बिवेक तिमल्सिनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी अमरदहबाट खटएको प्रहरीले डाईनियाबाट पथरीतर्फ जाँदै गरेको बा.३७ प ४०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।