सुर्खेत । जाजरकोटमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान करिब ९ बजे बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएका थिए । सोही क्रममा प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएपछि घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनास्थल नजिकैको खाल्डोबाट भरुवा बन्दुकसहितका हातहतियार फेला पारेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद तथा भरुवा बन्दुकमा प्रयोग हुने २१ थान धातुका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।