काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ। रास्वपा, उनेपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच साेमबार साँझ त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ रहनेछन्। यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख गरिएको छ।
सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार एकतापछि साविक रास्वपाकै नाम र चुनाव चिह्न ‘घण्टी’ कायम रहनेछ। रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न अन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने उल्लेख छ।
दुवै पार्टीले नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र समतामूलक शासन स्थापना गर्न नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
सहमतिपत्रमा भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद तथा घाइतेको बलिदानलाई प्रेरणास्रोतका रूपमा लिइने उल्लेख छ। साथै, भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले गरेको आन्दोलनको मर्म आत्मसात् गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
सहमति पत्रमा भनिएको छ, “उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरू प्राप्त गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनागत सुधारमार्फत आगामी दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयन गरिनेछ।”
एकतापछि उज्यालो नेपाल पार्टीका अभियान, युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई पार्टी संरचनामा समायोजन गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने सहमतिपत्रमा उल्लेख गरिएको छ।
