काठमाडाैं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका २० जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून शाखाद्वारा प्रकाशित सूचनामा ती कर्मचारीहरू आफूखुसी कार्यालयमा अनुपस्थित रहेको उल्लेख गरिएको छ। खोजतलास तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएको जनाइएको छ।
सूचनाअनुसार सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।
तोकेको समयभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुर कायम गरी सोही नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।
