काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँमा एक जनालाई पक्राउ गरेको छ।
कास्की, पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखेका थिए र युके पठाएनन्।
उजुरीका आधारमा पक्राउ परेका बराइलीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए ।
पुलिसले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने घटना बढ्दो क्रममा रहेको भन्दै यसबारे सबैमा सचेत रहन आग्रह गरेको छ।